

प्रेम सम्बन्धका कारण युवकको हत्या, प्रेमिकासहित ६ जना पक्राउ

सर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २८ वर्षीय अरविन्द कुमार पण्डितको प्रेम सम्बन्धकै कारण हत्या भएको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार पत्रकार सम्मेलनमार्फत पण्डितको हत्या घटनामा संलग्न ६ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा पण्डितकी प्रेमिका नजिमा खातुन, उनका श्रीमान मोस्तकिम अंसारीसहित चार जना नातेदार रहेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानमा पण्डितको मुख थुनेर हत्या गरिएको बताएको छ।
प्रेम सम्बन्ध रहेका पण्डित र विवाहित नजिमा भारत भागेर एक महिना बसेर वैशाख २० गते नेपाल फर्किएका थिए। त्यसपछि नजिमा श्रीमानसँग बस्ने सहमति भए पनि पण्डित नजिमासँग सम्पर्कमा रहँदै आएका थिए। यिनै कारणले नजिमा र उनको परिवारले योजनाबद्ध रूपमा वैशाख २८ गते फूलजोर खोला नजिक हत्या गरेको प्रहरीले जनाएको छ।
हत्या पश्चात लाशलाई घाँसपातले छोपेर अर्को दिन उखुबारीमा फालिएको थियो। वैशाख ३० गते शव फेला परेको र ३१ गते दाजुले सनाखत गरेका थिए।
अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको छ।

