कोशी प्रदेशका चार सांसद चढेको गाडी दुर्घटना


विराटनगर- कोशी प्रदेशका चार जना सांसद चढेको गाडी सोमबार मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ। विराटनगरतर्फ आउँदै गरेका प्रदेशसभा सदस्य सवार गाडी र झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी सवार अर्को गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ खण्डमा बेलबारीबाट झापा जाँदै गरेको बा.५च ३५३० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको बीएई १४०६ नम्बरको कार एकअर्कासँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बा.५च ३५३० नम्बरको गाडी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाइरहेका थिए। अर्काे गाडीको चालक भेशराज श्रेष्ठ थिए, जसमा सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए। उनीहरू कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार, दुर्घटनामा दुबै गाडीमा सामान्य क्षति भएको छ भने यात्रुहरू सबै सकुशल रहेका छन्। सांसद मैया श्रेष्ठले गाडीमा क्षति पुगे पनि आफूहरूलाई कुनै चोटपटक नलागेको बताइन्।

प्रतिक्रिया