सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको २४ घण्टा गस्ती सुरु


काठमाडौं- हालैको क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बलले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग समन्वय गर्दै संयुक्त गस्ती, सूचना आदान–प्रदान र चेकजाँचलाई तीव्र बनाएको हो।

एक बीओपी (बोर्डर आउटपोस्ट) बाट अर्को बीओपीसम्म २४ घण्टा गस्ती गर्ने व्यवस्था गरिएको छ। अनधिकृत रूपमा सीमा पार गर्ने गतिविधि नियन्त्रण गर्न सबै बाहिनीपतिलाई केन्द्रबाट विशेष निर्देशन दिइएको छ। त्यसअनुसार बाहिनी मुख्यालयहरूले सुरक्षा योजना बनाइ कार्यान्वयन गरिरहेका छन्।

सीमामा आवतजावत गर्ने व्यक्तिहरूको परिचय पत्र जाँच गर्ने र अभिलेख राख्ने कार्य समेत भइरहेको छ। साथै, संकास्पद स्थानहरूमा निगरानी, चेकजाँच तथा गोप्य सूचना संकलनलाई पनि प्राथमिकता दिइएको छ।

साथै, सशस्त्र प्रहरी बलले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग पनि समन्वय गर्दै सीमानाका गतिविधिहरूमा कडाइका साथ निगरानी गरिरहेको छ। यद्यपि, नेपाल–भारतबीचको परम्परागत नाता तथा स्थानीय जनजीवनलाई असहज नबनाउने गरी सहज आवतजावतको व्यवस्था समेत मिलाइएको छ।

यसैबीच, शहरी क्षेत्रका सम्भावित संवेदनशील स्थानहरूमा समेत सुरक्षा सतर्कता बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया