

पोखरा र शुक्लागण्डकीमा सेवा ठप्प, कर्मचारी र स्थानीय आन्दोलनमा

पोखरा – कास्कीको पोखरा महानगरपालिकामा वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेपछि महानगर तथा वडा कार्यालयका सेवा ठप्प भएका छन्। पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेका थिए।
तालिम सम्बन्धी विषयमा सल्लाह नगरेको भन्दै वडाध्यक्ष आक्रोशित भएको बताइएको छ। पोखरेलका अनुसार, वडाध्यक्षले अपशब्द प्रयोग गर्दै मादक पदार्थ सेवन गरेका अवस्थामा हातपात गरेका थिए।
यो घटनापछि स्थानीय तहका चार कर्मचारी संगठनले वडाध्यक्षमाथि कारबाहीको माग गर्दै मेयरलाई २४ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए। तर सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले सम्पूर्ण प्रशासनिक सेवा अवरुद्ध गरेका छन्। वडाध्यक्षविरुद्ध उजुरी दर्ता भई कानुनी प्रक्रिया अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उता तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, लोकदीटारबासीले आधारभूत स्वास्थ्य केन्द्रको माग गर्दै मेयर कृष्णराज पण्डितको कार्यकक्षमा ताला लगाएका छन्। यसअघि नगर भवनको मुख्य गेटमा ताला लगाए पनि पछि कार्यकक्षमा स्थानान्तरण गरिएको हो।
स्वास्थ्य मन्त्रालयबाट आएको बजेट कहाँ लगाउने भन्ने विवादले स्थानीय आक्रोशित बनेका हुन्। हाल स्वास्थ्य सेवा छब्दीस्थित भाडाको भवनमा सञ्चालन भइरहेको छ। तर, स्थानीयले भवन लोकदीटारमै बन्नुपर्ने माग राख्दै आएका छन्।
उपमेयर र अन्य प्रशासनिक अधिकारीसँग भएको वार्ता निष्कर्षविहीन भएपछि आक्रोश झनै बढेको छ।

