

आइपीओको अनुमतिका लागि धितोपत्र बोर्डले कमिसन मागेको विषयमा छानबिन गर्न सांसदको माग

काठमाडौं — सांसदहरूले धितोपत्र बोर्डले आइपीओ (प्राथमिक सेयर निष्कासन) को स्वीकृतिका लागि कमिसन माग्ने गरेको गम्भीर आरोप लगाउँदै तत्काल छानबिनको माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा विभिन्न सांसदहरूले साना जलविद्युत् आयोजना तथा ठूला आयोजनाबाट क्रमशः ५ र ७ प्रतिशत कमिसन मागिएको आरोप लगाउँदै यसबारे गहिरो छानबिनको आवश्यकतामा जोड दिए।
सांसद माधव सापकोटाले भरपर्दो संयन्त्र गठन गरी बोर्डमाथि छानबिन अगाडि बढाउन सभामुखसमक्ष रुलिङको माग गरे। उनले हाल ४३ जलविद्युत् आयोजनाको आइपीओ प्रक्रिया बोर्डकै कारण रोकिएको जनाउँदै यसले लगानीकर्ताको विश्वास कमजोर बनाएको बताए।
त्यस्तै, राप्रपाकी सांसद रोशन कार्कीले कमिसन माग्ने व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरिन्। उनले धितोपत्र बोर्डको लापरबाहीका कारण पुँजीबजारमा हजारौं लगानीकर्ताको रकम जोखिममा परेको उल्लेख गर्दै जनताको अधिकारमा ठेस पुगेको बताइन्।
सांसद कार्कीले प्रधानमन्त्रीको अध्यक्षतामा गठित सुशासन आयोगलाई पनि यस विषयमा तत्काल हस्तक्षेप गरी कारबाही प्रक्रिया सुरु गर्न आग्रह गरिन्।
यसअघि पनि जलविद्युत् कम्पनीहरूले आइपीओ स्वीकृतिका सन्दर्भमा बोर्डले कमिसन माग्ने गरेको विषय सार्वजनिक भइसकेको थियो, जसले पुँजीबजारमा गम्भीर प्रश्न खडा गरेको छ।

