

चन्द्रपुरको मेडिकलमा लागुऔषध कारोबार, ठूलो परिमाणमा ट्रामाडोल बरामद

रौतहट— पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रपुर नगरपालिका–१० चेतनगरस्थित एक मेडिकलबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार मौलापुर नगरपालिका–४ का २९ वर्षीय जितेन्द्र साहलाई पक्राउ गरिएको हो।
बिना दर्ता फार्मेसी सञ्चालन गर्दै आएका साहले औषधि व्यवसायको नाममा लुकिछिपी लागुऔषध कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले रेकी गरी आइतवार छापा मारेको थियो। छापामारीको क्रममा ट्रामाडोलका ४,५०० क्याप्सुल बरामद गरिएको डिएसपी राईले जानकारी दिए।
साहले भारतबाट लागुऔषध ल्याई मेडिकलमा भण्डारण गर्ने र बागमती, चन्द्रनिगाहपुर लगायतका क्षेत्रमा युवालाई महँगोमा बिक्री गर्नुका साथै काठमाडौंसम्म आपूर्ति गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
साहलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

