

इटहरीमा जिउँदो श्रीमानलाई मरेको भन्दै सिफारिस !

काठमाडौं — सुनसरीको इटहरीमा एक महिलाले जीवित श्रीमानलाई मृत घोषणा गराउँदै स्थानीय निकायबाट सिफारिस गराएकी छिन्। श्रीमान दीपबहादुर खड्का कतारमा जीवित भेटिएपछि उनले सम्पत्ति हत्याउन वडा अध्यक्षसँग मिलेमतो गरेको खुलेको हो।
इटहरी उपमहानगरपालिका–२० की कुस्मादेवी खड्काले १२–१३ वर्षदेखि सम्पर्कविहीन रहेका श्रीमान बेपत्ता भएको भन्दै २०८१ चैत १० गते सुनसरी जिल्ला अदालतमा मृत्युको न्यायिक घोषणा माग गर्दै निवेदन दिएकी थिइन्। उनले इटहरी वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठको सिफारिस समेत पेस गरेकी थिइन्।
तर, अदालतले थप प्रमाण मागेपछि दीपबहादुर खड्का कतारमै जीवित भेटिए। अनुसन्धानमा खुल्न आएको अनुसार उनी विदेशमै परिवारसँग सम्पर्कमा रहँदै आएका थिए। उनका बुबा चन्द्रबहादुर खड्का केही समयअघि कतारमै भेटेर फर्किएका थिए।
प्रहरीको भनाइ अनुसार, यो घटना अदालतको आदेशपछि मात्र सतहमा आएको हो। वडाध्यक्ष श्रेष्ठले गोप्य रूपमा गरेको सिफारिस अब उनको लागि नै कानूनी झमेलाको कारण बनेको छ। सर्जमिनका क्रममा कम्तीमा ७ जना स्थानीयको रोहबरमा प्रमाणित हुनुपर्ने भए पनि सिफारिसमा यस्ता प्रक्रिया नपुगेको देखिएको छ।
अब वडाध्यक्ष र कुस्मादेवीसहित संलग्नहरूमाथि अदालतको आदेश अनुसार कानूनी कारबाही हुने इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर राजेन्द्र पौडेलले जानकारी दिए।

