

बालिकामाथि बलात्कार प्रयासपछि फरार, ‘रातभर निद्रा लागेन’ भन्दै दशकपछि आत्मसमर्पण

काठमाडौं- “म अपराधी हुँ, मलाई कारबाही गर्नुस्”। वैशाख ११ गते राति १० बजे एक अधवैँशे पुरुष प्रहरी वृत्त बौद्धको गेटमा आइपुगेर ड्युटीमा खटिएका प्रहरीलाई यिनै शब्द सुनाए। उनी थिए ४५ वर्षीय काले तामाङ। ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ घर भइ हाल गोकर्णेश्वर नगरपालिका–९, आरुबारीमा बसोबास गर्दै आएका।
तामाङको कुराले प्रहरीलाई झस्कायो। सामान्य अपराधका अभियुक्त पक्रन महिनौँ मेहनत गर्नुपर्ने बेलामा उनी आफैँ आएर अपराध स्वीकार्न पुगेका थिए। प्रहरीसँगको प्रारम्भिक सोधपुछमा तामाङले १० वर्षअघि, २०७२ फागुन ४ गते गोकर्णेश्वरमै ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको स्वीकार गरे।
तामाङका अनुसार, ती दिन बालिकाको कोठामा कोही नभएको मौकामा उनले जबरजस्ती करणीको प्रयास गरेका थिए। तर, बालिकाले चिच्याएपछि उनी भागे। “प्रहरीले समात्ला भन्ने डरले म देशै छाडेर भारतको गुवाहाटी पुगेँ। त्यहाँ ७ वर्ष काम गरेँ, तर आत्मग्लानीबाट कहिल्यै छुटकारा पाइएन,” तामाङले भनेको प्रहरी स्रोतले जनाएको छ।
भारतबाट फर्केपछि उनले सुनसरी र उदयपुरमा आफन्तहरूसँग लुकेर बस्न थाले। तर, अपराधको पछुतोले उनीलाई मानसिक रूपमा सधैं दबाबमा राख्यो। “गल्ती गरेपछि रातभरि निद्रा लागेन, बेचैनीले सतायो। त्यसैले आत्मसमर्पण गर्न आएको हुँ,” तामाङले प्रहरीसँगको बयानमा भने।
दश वर्षसम्म परिवारदेखि टाढा बसेका तामाङ काठमाडौं फर्किएपछि अझै बेचैन हुन थाले। उनले अन्ततः आफ्नो गुनासो परिवारसँग बाँडे। परिवारले उनलाई कानुनी सजाय भोग्न सल्लाह दियो। त्यसपछि उनी १०/११ वर्षीय छोरालाई साथमा लिएर प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गर्न पुगे।
तामाङको बयानपछि प्रहरीले पुराना अभिलेख खोज्यो। रेकर्डअनुसार, २०७२ फागुन ५ गते पीडित बालिकाका परिवारले जाहेरी दिएका रहेछन्। तामाङविरुद्ध जबरजस्ती करणी महलअन्तर्गत मुद्दा दायर भइसकेको थियो। उनी फरार रहेकाले अदालतले २०७५ मंसिर ६ गते तामेलीमा राख्ने आदेश दिएको थियो।
अब भने तामाङलाई सरकारी वकिलमार्फत जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। अदालतले वैशाख १४ गते उनलाई पुर्पक्षका लागि जगन्नाथ देवल कारागार पठाएको छ।
“हामी आरोपीको खोजी गर्दै थियौं, तर उनी आफैँ आत्मसमर्पण गर्न आए। यस्तो घटना कमै देखिन्छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले भने।
प्रहरीका अनुसार, अपराध गरेर भाग्नेहरू धेरै भए पनि आत्मग्लानीले फर्केर आफैँ समर्पण गर्ने घटना निकै दुर्लभ हो। काले तामाङको १० वर्षअघिको गल्तीको पछुतोले उनलाई फेरि कानुनी प्रक्रिया भोग्न विवश बनायो।

