

कागजमै सीमित थियो अरुणिमा बिहे, अब अलग हुने चाहना

काठमाडौं- विवाहपछि अमेरिकातिर लागेकी अभिनेत्री अरुणिमा लम्साल अहिले नेपालमै ‘डिभोर्स’को मुद्दा लिएर चर्चाको शिखरमा छिन् । एकातिर अदालतमा मुद्दा दायर गरेर वैवाहिक सम्बन्ध अन्त्य गर्ने प्रयास र अर्कोतिर मिडियामा उत्साहसाथ अन्तर्वार्ता दिँदै व्यक्तिगत पीडालाई सार्वजनिक ‘न्यायको यात्राका कहानी’मा बदल्ने उनको यो फेज एउटा रोचक सामाजिक चित्र पनि बनेको छ ।
उनले आफ्ना पति युवराज श्रेष्ठविरुद्ध करिब आठ महिनाअघि सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । हालका अन्तर्वार्ताहरूमा उनले खुलेर आफ्नो वैवाहिक सम्बन्धबारे बोलेकी छन् । उनका अनुसार युवराजसँग पाँच महिनादेखि सम्पर्क छैन । ३ भदौ २०८१ मा राम मन्दिरमा विवाह गरेका उनीहरूले कानुनी विवाह पनि सुनसरी जिल्ला अदालतमा गरेका थिए
“झुटो मान्छेसँग जीवन बिताउनुभन्दा सिङ्गल बस्नु बेस लाग्यो,” उनले प्रस्ट भनिन् । कानुन अनुसार मुद्दा फाइल गरेकै दिन आफू सिंगल भइसकेको दाबी पनि उनले गरिन् । “गोत्र पनि फर्किसक्यो,” भनेर उनी धार्मिक आधार समेत उल्लेख गर्छिन् ।
अरुणिमाले विवाहपछि सँगै बसाइ नै नभएको बताइन् । “हामी सँगै बस्या छैनौं, मूल घर पनि गएकी छैन,” भन्दै उनले यो सम्बन्धलाई कागजी मात्रै बताइन् । उनका अनुसार सबै परम्परागत रीतिरिवाज वैशाखमा गर्ने भनिएको थियो, तर त्यो कहिल्यै हुन सकेन ।
एक अन्तर्वार्तामा उनले श्रीमानले आफूलाई धेरै कुरा ढाँटेको बताइन्, तर ती कुरा खुलाउन भने चाहिन न्। “चार–पाँच कुरा छन्, तर म अहिले भनिन्न,” भन्दै हाँस्दै पन्छिइन् ।
आफ्नो अर्को विवाहको सोच छैन भन्दै उनले भविष्यका लागि चाहिएको जीवनसाथीको परिभाषा भने दिइन् । झुटो नबोल्ने, इमान्दार, मेहनती, आफूमाथि माया र सम्मान गर्ने व्यक्ति ।
युवराजले भने अझैसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर अरुणिमा भने मिडिया हाउसहरूमा खुलेर बोलिरहेकी छन् ।
अरुणिमाको यो दोस्रो बिहे हो । यसअघि उनको अमित अर्यालसँग पहिलो विवाह भएको थियो । उनीहरूबाट एक छोरी छिन् ।

