भाटभटेनी सुपरस्टोरमा चोरी गर्ने ८ जना रिहा, आगजनी र तोडफोड गर्नेहरु थुनामै बस्ने


काठमाडौं– राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा चोरी तथा लुटपाटमा संलग्न ८ जना पक्राउ परेका व्यक्तिहरू प्रहरी हिरासतबाट रिहा भएका छन् । यी व्यक्तिहरूले स्याउ, रक्सी, लत्ताकपडा र कोल्डड्रिंक्स जस्ता सामग्री चोरेका थिए ।  प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले तिनीहरूलाई विभिन्न मितिमा पक्राउ गरि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, अदालतले ती व्यक्तिहरूलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ । अधिकारीका अनुसार, यो घटनामा संलग्न व्यक्तिहरूले नियतवश चोरी नगरेको र लहलहामा त्यस्तो कार्य गरेका कारण उनीहरूको हिरासतमा राख्नु पर्याप्त सजायको रूपमा मानिएको थियो ।

उनीहरूको खिलाफ आपराधिक उपद्रवको मुद्दा चलाइएको थियो ।  सोही कानून अनुसार उनीहरूको किटानी भइरहेको छ । अन्य कसुरदारहरू भने अहिले पनि हिरासतमा छन् ।

आगलागी वा सवारी साधन तोडफोड जस्ता घटनामा संलग्न व्यक्तिहरूलाई भने रिहा गरिने छैन ।

प्रतिक्रिया