

भारतीयलाई नागरिकताको सिफारिस नगरेपछि वडा कार्यालय तोडफोड

वीरगन्ज – पर्सा को सखुवा प्रसौनी गाउँपालिका–४ मा नागरिकता सिफारिसको विवादले हिंसात्मक मोड लिँदै वडा कार्यालय नै तोडफोड गरिएको छ । मंगलबार राति ५-६ जनाको समूहले कार्यालयमा प्रवेश गरी ल्यापटप, कागजात, छापसहित अन्य सामग्री चोरी गरेका छन् ।
वडाध्यक्ष आरिफ अन्सारीका अनुसार, तोडफोड समूहले १२ वटा कुर्सी, ३ वटा दराज, टेबल, पंखा लगायतका सामग्री नष्ट गर्नुका साथै कार्यालयको लेटरप्याड, छाप र ल्यापटप समेत चोरेर लगेका छन् ।
वडाध्यक्ष अन्सारीले विगत ६ महिनादेखि एक जना भारतीय नागरिकलाई नेपाली नागरिकताको सिफारिस दिन विभिन्न माध्यमबाट दबाब आइरहेको जनाएका छन् । “त्यही समूहको धम्की र दबाबबीच कार्यालयमा तोडफोड गरिएको हो,” अन्सारीले बताए। उनले तोडफोडमा संलग्न समूहविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिसकेको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले घटना गम्भीर भएको भन्दै दोषीहरूलाई कानूनी कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरेका छन् । “विदेशी नागरिकलाई नागरिकता सिफारिस दिन वडाध्यक्षमाथि दबाब आएको कुरा थाहा पाएका थियौं, तर यो घटना त्यही रिसइवीमा भएको हुन सक्छ,” उनले भने ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पठाइएको र अनुसन्धान जारी रहेको बताएका छन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ र संलग्न समूह पहिचानमा जुटेको छ ।
स्थानीय सरकारको कार्यालयमाथि यस प्रकारको आक्रमणले नागरिकता प्रक्रियामा भइरहेको अनाधिकृत दबाब र त्यसले निम्त्याउने सुरक्षा संकटलाई उजागर गरेको छ ।

