

गौतमबुद्ध विमानस्थलमा नियमित उडानको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा

बुटवल— भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको माग गर्दै व्यवसायिक संघसंस्थाहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । विमानस्थल उद्घाटन भएको तीन वर्ष पुग्न लाग्दा पनि नियमित उडान नहुँदा करिब एक खर्बको लगानी जोखिममा परेको भन्दै व्यवसायीहरू चिन्तित छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स रुपन्देहीले संयुक्त पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेका हुन् । सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।
पहिलो चरणमा जनप्रतिनिधि र एअरलाइन्ससँग छलफल, शान्तिपूर्ण विरोध, सम्बन्धित मन्त्रालयलाई अल्टिमेटम दिने कार्यक्रम तय गरिएको छ। दोस्रो चरणमा विमानस्थल गेटमा धर्ना, विरोधसभा तथा आन्तरिक उडान बन्द गर्ने चेतावनी दिइएको छ ।
व्यवसायीहरूले विमानस्थल सञ्चालनमा संघ, प्रदेश र स्थानीय सरकारको उदासीनता, काठमाडौँ केन्द्रित दबाब, ट्राभल एजेन्सीहरूको कार्टेलिङ र एअरलाइन्स कम्पनीहरूको कमजोरी कारण उडान स्थायीत्व नआएको आरोप लगाएका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी अध्यक्ष चन्द्रबहादुर थापाले नियमित उडान नहुँदा लगानीकर्ता पछि हटेको बताए । व्यवसायी सञ्जय वजिमयले काठमाडौँका ट्राभल एजेन्सीहरूको सिन्डिकेटले ९५% टिकट त्यहींबाट बिक्री हुने अवस्था बनाएको आरोप लगाए ।
उनीहरूले भैरहवामा एअरलाइन्सको टिकट काउन्टर, सम्पर्क कार्यालय, अनलाइन ई-भिसा र डिजिटल पेमेन्ट प्रणाली अनिवार्य गर्न माग गरेका छन् । साथै, बौद्धमार्गी मुलुकबाट सिधा उडानका लागि पहल गर्न पनि जोड दिएका छन् ।
विमानस्थल प्रवक्ता श्यामकिशोर साहका अनुसार जजिरा, फ्लाई दुबई र थाई एयर एसियाले ‘समर सेड्युल’ नतोक्दा उडान रोकिएको हो । जजिराले मे महिनाबाट पुनः उडान सुरु गर्ने जनाइएको छ ।

