

युक्रेनमा दुई नेपाली पक्राउ

काठमाडाैं – युक्रेनको सीमा सुरक्षा गार्डले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङका सन्देश केशी र महोत्तरीका जयप्रकाश शाह रहेका छन् ।
उनीहरू भारतीय दलालमार्फत पोल्याण्ड छिर्ने उद्देश्यले युद्धग्रस्त मुलुक युक्रेन पुगेका थिए । जर्मनीस्थित नेपाली दूतावासका उपप्रमुख सागर फुयाँलले केशी र शाहको पक्राउ पुष्टि गरेका छन् ।
फुयाँलका अनुसार उनीहरू एक हप्ता अगाडि पक्राउ परेका हुन् । हाल उनीहरू थप अनुसन्धानका लागि हिरासतमा छन् । युक्रेन सरकारले उनीहरूलाई जतिसक्दो चाँडो नेपाल फर्काउन आवश्यक पहल दूतावासले गरिरहेको छ।
तर, फुयाँलले उनीहरूलाई तत्काल नेपाल फर्काउन सहज नहुने बताएका छन् । यसअघि यस्तै प्रक्रियाबाट युक्रेन पुगेका शेर स्याङ्वो र फुर्वा शेर्पालाई नेपाल फर्काउन १० महिना लागेको थियो । ती दुवै जना पनि भारतीय एजुकेशन कन्सल्टेन्सीमार्फत युक्रेन गएका थिए र प्रत्येकले झण्डै ७ लाख रुपैयाँ बुझाएका थिए ।
दूतावासका अनुसार, युक्रेनबाट सिधै नेपाल फर्कन नसकिने भएकाले मोल्डोभाको सहकार्य आवश्यक हुनेछ। त्यसका लागि मोल्डोभा सरकारसँग भिसा प्रक्रिया मिलाउनु पर्ने देखिएको छ ।

