नेपालगञ्जमा बीपी कोइरालाको शालिकमा कालोमोसो, एमाले महासचिवको आपत्ति


काठमाडाैं- नेपालगञ्जको बीपी चोकमा रहेको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा शनिबार राति कालोमोसो दलिएको घटना राजनीतिक तापक्रम चुलिएको अवस्थामा भएको हो । राप्रपा र अन्य राजावादी समूहले सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै आयोजना गरेको राँके जुलुसको क्रममा बीपीको शालिकमा कालोमोसो दलिएको र कालो कपडाले छोपिएको छ ।

यस क्रममा शालिकमा तोडफोडको प्रयास समेत भएको कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले बताएका छन् । कांग्रेसले यस घटनाको तीव्र विरोध जनाउँदै बीपीको शालिकमाथिको आक्रमणलाई लोकतान्त्रिक मूल्य र राष्ट्रिय नेताप्रतिको अनादरको संज्ञा दिएको छ ।

यसैबीच, नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि उक्त घटनाप्रति आपत्ति जनाउँदै राप्रपाको चरमपन्थी क्रियाकलापले राजसंस्था पुनर्स्थापनाको आन्दोलनको असली रुप देखाएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भने, “राजसंस्था पुनःस्थापनाको आन्दोलन भन्नेहरु जननिर्वाचित प्रधानमन्त्रीको अपमान गर्न तम्सिएका छन् ।”

पोखरेलले लोकतन्त्र र संवैधानिक राजसंस्था सँगसँगै जान सक्छ भन्ने धारणा राख्नेहरूलाई राप्रपाको उग्र गतिविधिबाट पाठ सिक्न सुझाव दिएका छन् । साथै, पूर्वराजा ज्ञानेन्द्रको निरङ्कुश शासनकाल सम्झाउँदै उनले बीपी स्वयं गणतन्त्रको पक्षमा उभिने तर्क समेत गरेका छन् ।

१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाका अगुवा राणा, रवीन्द्र मिश्र लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने दुर्गा प्रसाईं फरार छन् ।

 

प्रतिक्रिया