डा. शेखरले गरे शिक्षकका समस्या यथाशीघ्र समाधान गर्न माग


काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राजधानीमा आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

डा. कोइरालाले सामाजिक सञ्जालमार्फत् नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारीहरु सडकमा आन्दोलनरत रहेको जनाउँदै सरकार र महासंघबीच भएका सहमतिको अविलम्ब पालना गर्नुपर्ने जनाउँदै विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समाधान गर्न आग्रह गरेका हुन् ।

साथै कोइरालाले शिक्षक कर्मचारीहरुलाई नियमित काममा फर्कने वातावरण बनाउन पनि सरकारसँग माग गरेका छन् ।

महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गर्दै प्रदर्शन जारी राख्ने जनाएसँगै कोइरालाले जतिसक्दो छिटो शिक्षकका समस्या समाधान गरेर शिक्षकलाई विद्यालयमा फर्किएर नियमित कार्यमा सहभागी हुने वातावरण बनाउन माग गरेका हुन् ।

विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको महासंघले आइतबार बिहान विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ।

सरकारसँग विभिन्न मागहरु गर्दै गएको माघ २० गतेबाट आन्दोलनमा रहेको महासंघ यही चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छ।

प्रतिक्रिया