काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीकाे फेरि शीर्ष स्थानमा


काठमाडौं- काठमाडौं फेरि पनि विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । पछिल्लो समय न त पर्याप्त वर्षा भएको छ, न त मौसम खुलेको छ, जसका कारण वायु प्रदूषण भयावह बनेको छ ।

तुवाँलोका कारण हवाई उडानहरूमा समेत प्रभाव परेको छ । मंगलबार बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स  २६८ मापन गरिएको छ, जुन अत्यन्तै प्रदूषित मानिन्छ ।

विश्वका प्रमुख प्रदूषित सहरहरूको सूचीमा दोस्रो स्थानमा भारतको दिल्ली (AQI २२८) रहेको छ। तेस्रो स्थानमा थाइल्याण्डको चियाङ माई, चौथो स्थानमा चीनको वुहान, र पाँचौँ स्थानमा पाकिस्तानको लाहोर रहेका छन् ।

काठमाडौँको वायु प्रदूषणका कारण विभिन्न रोगहरूको जोखिम बढिरहेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार वायु प्रदूषणले भाइरल संक्रमणको दर वृद्धि गरिरहेको छ, जसले गर्दा रुघाखोकी व्यापक बनेको छ ।

त्यसैगरी, छालासम्बन्धी समस्या, आँखामा चिलाउने जस्ता लक्षणहरू बढ्दै गएका छन् । चिकित्सकहरूले अत्यावश्यक नभएसम्म बाहिर ननिस्कन र बाहिर निस्कनै परे मास्क अनिवार्य रूपमा प्रयोग गर्न सुझाव दिएका छन् ।

मौसमविद्हरूका अनुसार निकट भविष्यमा काठमाडौँमा वर्षाको सम्भावना न्यून छ ।  सरकारले भने वायु प्रदूषण नियन्त्रण गर्न अहिलेसम्म कुनै ठोस योजना नल्याएको देखिन्छ ।

प्रतिक्रिया