

साँखुमा पानी भनी एसिड छ्यापियो, १६ बर्षिया किशोरी र दुई बालक घाइते

काठमाडौं– होलीको दिनमा पानी सोचेर रङमा एसिड मिसाएर छ्याप्दा काठमाडौं साँखुमा एक किशोरीसहित ३ जना घाइते भएका छन्।
शंखरापुर नगरपालिका–१ चापाकोटमा पानी सोचेर एसिड छ्यापेपछि १६ वर्षीया किशोरीसहित ९ र ११ वर्षका बालक घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
एसएसपी सिंहका अनुसार घाइतेहरुको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। एसिडले किशोरीको गाला र दुईजना बालकको हात र अनुहार जलेको एसएसपी सिंहले बताए।
घाइतेहरू नविन ग्राम मावि शंकरापुरमा अध्ययनरत विद्यार्थी हुन्।
सोही घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय पवन पहाडी, १८ वर्षीय प्रकाश तामाङ र सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक ४४ वर्षीय केशव नेपाललाई प्रहरीले पक्राउ गरेको छ।
पानी भनेर एसिड छ्याप्ने २ जनालाई पक्राउ गरिएको एसएसपी सिंहले बताए।
कसरी छ्यापियो एसिड?
होलीको दिन भएर आइतबार बिहानैदेखि जताततै होलीको चहलपहल थियो। साँखुमा पनि रंग दलेर एकआपसमा खुसी साटासाट गरिरहेका थिए।
होली खेल्ने क्रममा पवन र प्रकाशले ९ वर्षीय बालकसँग पानी मागे। उनीहरुको सामान्य चिनजान थियो।
बालकले चापाकोटस्थित दुध डेरीको बाहिर रहेको ग्यालिन लगेर दिए। उक्त ग्यालिनभित्र केशव नेपालले सल्फ्युरिक एसिड राखेका थिए। ती बालकलाई के थाहा ग्यालिनभित्र एसिड होला भनेर। लगेर ग्यालिन उनीहरुलाई दिए।
ग्यालिनमा रहेको एसिडलाई पाटी सोचेर नजिकैकी १६ वर्षीया किशोरी र २ बालकलाई एसिड छ्यापे।
शरीरमा पर्नासाथ पोल्न थाल्यो। त्यसपछि उनीहरु चिच्याए। स्थानीयको सहयोगमा तत्कालै अस्पताल लगियो।
एसिड नचिनेर उनीहरुले दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

