

मुक्तिनाथ घुम्न आएकी अमेरिकी महिलालाई अपहरण गरेर ३ लाख युरो मागेपछि…

पोखरा – नेपाल भ्रमणमा आएकी ७० वर्षीया अमेरिकी नागरिकलाई बन्धक बनाई ठूलो रकम फिरौती मागेको आरोपमा नुवाकोटकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–४ की ३७ वर्षीया सरिता लामा रहेका छन् ।
कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ प्रकिया प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीले संयुक्त रूपमा अघि बढाएको थियो।
उक्त अमेरिकी नागरिक मुक्तिनाथ भ्रमणका क्रममा लामासँग परिचित भएकी थिइन् । नेपाल घुम्ने ठाउँहरूको जानकारी लिने क्रममा लामासँग सम्पर्क बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी अमेरिकी महिलालाई लामा आफूले घरमा लैजाने भन्दै विश्वास दिलाएर होटलमै बन्धक बनाएको खुलेको छ । उनले फिरौतीस्वरूप ३ लाख युरो (करिब साढे ४ करोड रुपैयाँ) मागेको आरोप लागेको छ ।
११ चैतमा नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई जानकारी गराएपछि कास्की प्रहरी, सीआइबी, र मकवानपुर प्रहरीको संयुक्त टोली अनुसन्धानका लागि परिचालन गरिएको थियो।
प्रहरीले ती अमेरिकी नागरिकलाई हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीबाट उद्धार गरेको छ । सोही स्थानबाट सरिता लामालाई पनि पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा लामाले अमेरिकी महिलासँग सामान्य चिनजान रहे पनि उनलाई पोखराबाट हेटौँडा हुँदै पर्सातर्फ लैजाने योजना बनाएको खुलेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

