

काभ्रेका जिसस प्रमुख दीपककुमार गौतम हिरासतमुक्त

काठमाडौं – जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम हिरासतमुक्त भएका छन् । प्रहरीको रेकर्डमा रहेका ६ वटै मुद्दामा मिलापत्र भइसकेको प्रमाण प्रस्तुत भएपछि उनलाई रिहा गरिएको हो ।
गौतमका अनुसार, बैंकिङ कसुरको एउटा मुद्दामा छलफल गर्न जाँदा अन्य मुद्दाहरू देखिएर उनलाई पक्राउ पूर्जी दिइएको थियो । “तर ती सबै मुद्दा पहिल्यै मिलापत्र भइसकेका थिए, अदालतबाट कागज नआएका कारण समस्या भएको रहेछ,” उनले भने ।
प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले २ दिन मात्र म्याद दिएको थियो । अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले दुई पक्षबीच समझदारी भएको भन्दै उनलाई छाडिएको जनाएको छ ।
गौतमविरुद्ध गत वर्ष बनेपामा आयोजित कृषि महोत्सवको खर्च विवादमा उजुरी परेको थियो । भुक्तानीमा ढिलाइ हुँदा उनले व्यक्तिगत चेक दिएका थिए, जुन बाउन्स भएपछि प्रहरीमा मुद्दा परेको थियो ।
गौतमका अनुसार, महोत्सव र युथ फेस्टिभलका क्रममा करिब ५० लाख ऋण लागेको थियो, जसको भुक्तानी अलिअलि गर्दै गरिँदै थियो । “तर, नयाँ कार्यक्रमको पूर्वसन्ध्यामा मलाई नियन्त्रणमा लिइयो, जब कि सबै भुक्तानी भइसकेका थिए,” उनले भने ।

