लागुऔषधका लागि पैसा नदिएपछि देवरले गरेका थिए भाउजुकाे हत्या


मकवानपुर– हेटौंडा-१, चौकीटोलका एक परिवारमा लागुऔषध दुव्र्यसनले डरलाग्दो दुर्घटनाको रूप लिएको छ । २२ वर्षीय राहुल दासले बुधबार राति लागुऔषधको नशामा आफ्नै भाउजु ३५ वर्षीया गुडिया दासको हत्या गरेका छन् ।

प्रहरीका अनुसार राहुलले लामो समयदेखि लागुऔषध सेवन गर्दै आएका थिए । उनले नशाको तालमा भाउजु गुडियासँग पैसा माग्ने गर्थे, तर पैसा नपाएपछि उनले आक्रोशमा आएर खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गर्ने क्रममा उनले आफ्ना माइला दाजु २८ वर्षीय रुपेश दासलाई समेत घाइते बनाएका थिए ।

राहुलले परिवारबाट आफूलाई निस्कासित जस्तै महसुस गर्ने गरेको बयान दिएका छन् । उनका अनुसार परिवारका सदस्यहरू उनलाई हेयको दृष्टिले हेर्ने गर्थे, जसले गर्दा उनी झन् हिंस्रक बने । प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार लागूऔषध दुव्र्यसनकै कारण परिवारमा विग्रह आएको देखिन्छ ।

घटनाका दिन गुडियालाई घरमै खुकुरी प्रहार गरी हत्या गरेपछि राहुलले उनको शव कोठामा छोपेर राखेका थिए । स्थानीयले राति ९ बजेसम्म गुडियासँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा कोठाभित्र उनको शव भेटिएको थियो ।

दास परिवार हेटौंडामा फलफूल व्यवसाय गर्दै आएको थियो । तर, राहुलको लागुऔषधको लतले परिवारलाई बिथोलेको थियो । गुडियाका पती उनका जेठा दाजु रोशन दास रोजगारीका लागि कतार गइसकेका थिए, जसले गर्दा परिवारमा थप असन्तुलन आएको हुन सक्छ ।

 

प्रतिक्रिया