दुई जनाको मृत्यु हुनेगरी भएको होली मेलाको झडपमा हराएका दर्जन बढी सम्पर्कमा आए

अर्को समूहकी युवतीलाई रङ दल्दा भएको थियो ‘ग्याङ फाइट’


काठमाडौं– गुल्मी, बागलुङ र प्युठानको सिमानामा पर्ने बल्देधुरी बजारमा होली मनाउने क्रममा दुई जनाको ज्यान जानेगरी भएको झडपमा हराइरहेका सबैजना सम्पर्कमा आएका छन्।

आइतबार बल्देधुरीमा होली मनाउने र वनभोज खाने क्रममा बागलुङको निशीखोला गाउँपालिका–७ राजकुत र बडीगाड गाउँपालिका–१० दर्लिङका युवाहरूबीच ‘ग्याङ फाइट’ भएको थियो।

झडपमा परि ३६ बर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको बागलुङका प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए। त्यस्तै करिब एक दर्जन युवाहरु बढी बेपत्ता भएका थिए।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले दुई समूहको झडपपछि सम्पर्कविहीन भएकाहरू राती अबेर सम्पर्कमा आइसकेको अनलाइनन्यूजलाई जानकारी दिए। ‘सम्पर्कमा आएकामध्ये ३ जनाको अवस्था सिरियस छ, अन्य सामान्य घाइते छन्,’ उनले भने।

होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए।

बिनायोजना एउटा समूहकी युवतीलाई अर्को समूहका युवाले रङ लगाउन खोज्दा घटना भएको घटनाका प्रत्यक्षदर्शीहरुले प्रहरीलाई भनेका छन्। दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई भने प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन्।

घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक तथा घाइतेहरूको खोजी र उद्धार गरेर अनुसन्धानमा जुटेको हवारीले बताए। अहिले प्रहरीले दुवै समूहका युवासँग सोधपुछ गरिरहेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया