चीनबाट ८ लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै


काठमाडौँ – चीनले नेपाललाई उपलब्ध गराउने आठ लाख डोज कोरोना भाइरसविरुद्धको खोप आज (सोमबार) नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चीनबाट आठ लाख डोज खोप नेपाल ल्याउन लागेको बताए ।

चीनबाट खोप ल्याउन शनिवार साँझ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङ उडेको थियो । सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको निगमले जनाएको छ ।

सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । आजै राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । उक्त सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको थियो।

बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौ–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिएको हो।

निगमको ए ३३० जहाज काठमाडौँ–बेइजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ । निगमले कोभिडविरुद्धको खोप लिन पहिलोपटक उडान गर्न लागेको हो ।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया