

कर्मचारी छुटाउन २० करोड १६ लाख धरौटी

सिन्धुपाल्चोक — सिल्क ट्रान्सपोर्टले आफ्ना दुई कर्मचारी छुटाउन राजस्व अनुसन्धान विभागमा २० करोड १६ लाख रुपियाँ धरौटी राखेर छुटाएको छ ।
उसको इमाडोलस्थित गोदामबाट ८६ हजार थान अवैध इलेक्ट्रिक चुरोट (भेप) सहित दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
सिल्क ग्रुपका विजय शेर्पाले दुई कर्मचारी छुटाउन राजस्वमा उक्त रकमको बैङ्क ग्यारेन्टी बुझाएको जानकारी दिए ।
बैङ्क ग्यारेन्टी प्राप्त भएपछि भेपसहित पक्राउ परेका दुई कर्मचारी छुटेका हुन् । गोदामका कर्मचारीले यति ठुलो रकम बैङ्क ग्यारेन्टी राख्न नसकेपछि सिल्कले राखेको हो । बैङ्क ग्यारेन्टी राख्ने समयसम्म सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पा सार्वजिक भएका थिएनन् । बैङ्क ग्यारेन्टी राखिएपछि मात्रै शेर्पा सार्वजनिक भएका थिए ।
प्रहरीले सिल्क गु्रपको गोदामबाट बरामद गरेको अवैध भेप कसको हो भन्ने पक्राउ परेका ती कर्मचारीले यकिन बयान नदिएको बताइएको छ ।
धरौटीमा छुटेका दुई कर्मचारी सो गोदाममा कार्यरत कर्मचारी हुन् । पक्राउ परेकालाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ । खास मालिक पहिचान नभएको र अनुसन्धानका लागि तोकिएको समय पूरा नभएका कारण भेपको मूल्य यकिन गरेर धरौटी माग गरिएको थियो ।

