

पाटन अस्पतालबाट थुनुवा फरार

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका अछाम निवासी १९ वर्षीय दीपक साउद बुधबार दिउँसो भागेका हुन् ।
प्रहरीका अनुसार, बिरामी भएपछि उपचारका लागि पाटन अस्पताल लगिएका साउद शौचालय जाने बहानामा झ्यालबाट हामफालेर फरार भएका हुन् । उनी बिहान ११ बजेतिर भागेको प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरी परिसरका एसपी तथा प्रवक्ता नरहरी रेग्मीले साउदको खोजी कार्य तीव्र पारिएको बताए । ‘शौचालय जाने भन्दै भागेको देखिन्छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने।
साउद १७ वर्षीया किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ती किशोरीले केही समयअघि बच्चा जन्माएकी थिइन् । विवाह गर्ने कानुनी उमेर नपुगेको र पछि आफूलाई बेवास्ता गर्न थालेपछि किशोरीले साउदविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

