

पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ र ‘शाही निसान’ प्रयोग गरेकोमा सांसदको आपत्ति

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भिडिओ सन्देशमा संविधानविपरीत शाही निशानको प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस विषयमा सरकारको ध्यानकार्षण गराए । उनले यस्ता प्रकारका संविधानविरोधी गतिविधि बन्द हुनुपर्ने बताए ।
‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडिओ सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निशाना प्रयोग गरेको देखियो । यो शाही निशाना २०६५ साल जेठ १७ गते हटाइएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो’ उनले भने, ‘ त्यहाँ नेपालको संविधानमा कहीँ पनि महाराजधिराज भन्ने उल्लेख छैन । त्यसैले यस्तो सन्देश श्री ५ महाराजधिराज भनेर राख्ने र शाही निशाना राख्नेप्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न, संविधान नमिच्न अनुरोध गरोस् ।’

