खालबाटै समातिए २० जुवाडे


काठमाडौं – मोरङको विराटनगर र कटहरीमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–६, भट्टिमोड बस्ने विशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२ बस्ने ३६ वर्षीय बिमल मण्डल समेत १२ जना पक्राउ परेका छन् । उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७१० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी कटहरी गाउँपालिका–२ स्थित प्रभुकुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत आठजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया