पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी दोस्रोपटक ल्यान्ड


काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९  ल्यान्ड भएको छ ।

बिहीबार चीनको कुनमिङ विमानस्थलबाट चार्टड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस ३१९ पोखरा आएको हो । पोखरामा शनिबार हुने तेस्रो संस्करणको ‘क्रस कन्ट्री दौड’ मा सहभागी हुने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १२० जना बोकेर सिचुवानको जहाज पोखरा ओर्लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा सुवेदीले जानकारी दिइन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गतवर्षको असार ६ गते सिचुवानको न्यारोबडी एयरबस ३१९ ले नै पहिलो अन्तर्राष्ट्रिय उडान भरेर आएको थियो । त्यतिबेला पोखराको फेवातालमा पहिलोपटक भएको ‘ड्रागन बोट रेस फेस्टिबल’ मा सहभागी हुने खेलाडी र चिनियाँ पाहुनालाई चीनको छेन्दुबाट चाटर्ड उडान भरेर आएको हो ।

सन् २०२३ जनवरी १ मा पोखराको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । त्यसयता उक्त विमानस्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्रै भइरहेका छन् ।

 

प्रतिक्रिया