प्राधिकरणका डीजीको नाम लिएर अनलाइन ‘स्क्याम’ गरिँदै, साइबर ब्यूरोले सुरु गर्‍याे अनुसन्धान


काठमाडाैं- नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक (डीजी) प्रदीप अधिकारीसँग चिनजान भएका महेशलाई व्हाट्सएपमा ‘गुड मर्निङ’ भन्दै म्यासेज आयो ।

९८००९६३९९० नम्बरकाे व्हाट्सएप अकाउन्ट प्रोपाइलमा इन्जिनियर प्रदीप अधिकारीकाे नाम र फोटो पनि उनकै देखिएपछि महेशले पनि रिप्लाइ गर्छन् । कुराकानी गर्दै जाँदा अधिकारीको अकाउन्टबाट सानो आर्थिक सहयोग चाहिएको भन्दै महेशलाई मेसेज आउँछ । महेशले पनि हुन्छ भनेर रिप्लाइ गर्छन् । उताबाट तत्काल ५० हजार चाहिएको र सो रकम निशा अधिकारी भोलाङ नाम गरेकी व्यक्तिको कुमारी बैंकको खाता नम्बर पठाउन आग्रह गरिन्छ । खाता नम्बर पनि पठाइन्छ ।

तर, महेशलाई शंका लागेका कारण उनले डीजी प्रदीप अधिकारीले प्रयोग गर्ने नम्बरमा फोन गरेर सबै बेलिविस्तार सुनाउँछन् । त्यसपछि महेश अचम्मित हुन्छन् , जब अधिकारी आफूले उक्त ९८००९६३९९० नम्बर प्रयोग नगर्ने र रकम पनि नमागेको कुरा सुनाउँछन् । त्यसपछि बल्ल महेशले बुझ्छन्, कसैले अधिकारीको नामबाट अनलाइन ठगी गरिरहेको छ भनेर ।

उक्त घटनापछि नै ती ठगले अधिकारीको फोटो र नाम प्रयोग गरि व्हाट्सएपमा फेक अकाउन्ट बनाएर ठगी गरिरहेको खुलेको छ । उसले अधिकारीको फेक एकाउन्ट बनाएर व्हाट्सएपमार्फत उनका चिनजानका व्यक्तिहरुसँग रकम माग्ने गरेको खुलेको हो । त्यसरी आफ्नो नाम र फोटा राखेर रकम माग्ने गरेकाले नझुक्किन डीजी प्रदीप अधिकारीले आग्रह गरेका छन् ।

अहिले उक्त घटना नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ । ब्युरोले केही समयदेखि आपराधिक समूहले सामाजिक सञ्जाल दुरुपयोग गरी ठगीका गतिविधि गरिरहेको जनाएको छ । यस्ता ठगिने प्रवृत्तिबाट सजग रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया