रेड नोटिस जारी भएकी बिनु कम्बोडियाबाट पक्राउ
काठमाडौं- अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट रेड नोटिस जारी भएकी युवती कम्बोडियाबाट पक्राउ परेकी छन् ।
वैदेशिक रोजगारी ठगीलगायत विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी सिन्धुपाल्चोकको मान्खा घर भएकी बिनु शाक्यलाई कम्बोडियाको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नोमपेनको समन्वयमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई आइतबार नेपाल फिर्ता ल्याइएको छ । उनीमाथि वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएको अभियोग छ ।
यही प्रकरणमा उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्यलाई यसअघि नै कम्बोडियाबाटै झिकाइसकिएको छ ।
उनीहरू दुवै जनालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखामा अनुरोध भएपछि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो । त्यसपछि इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएको थियो ।
सुजन र बिनु दुवैजनालाई असोज १ गते कम्बोडियाबाट पक्राउ गरिएको थियो। सुजनलाई कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो ।
बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाही गराउने प्रयोजनका लागि प्रहरी वृत्त, कालिमाटीमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान पनि जारी छ ।