वन्यजन्तु र वन पैदावारका अठ्ठाइस मुद्दाका ४० जना बलेरोसहित पक्राउ


चितवन — डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ ।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्दामा उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाइएको हो । ती मुद्दामा संलग्न रहेकामध्ये १० जना फरार रहेको उनले जानकारी दिए ।

वन्यजन्तुसम्बन्धी मुद्दा दुई र वन पैदावारसम्बन्धी २६ मुद्दा दर्ता भएको उनले बताए । पक्राउ परेकाबाट १६ सवारीसाधन, ८४४ दशमलव २९ क्युफिट काठ बरामद गरिएको छ ।

सवारीसाधनमा बोलेरो, अटो, मोटरसाइकल, रिक्सा बरामद भएका छन् । सोही अवधिमा एक हजार १०३ दशमलव ५७ क्यूफिट काठ बेबारिसे अवस्थामा भेटिएको खनालले बताए ।

यसै समयमा ३५ वटा जङ्गली जनावरको उद्धार गरिएको छ भने ४२ वटाको व्यवस्थापन गरिएको छ । उद्धार गरिएका जनावरमा चित्तल, गोही, अजिङ्गर, रतुवा, हुचिल जस्ता रहेका छन् ।

मृत अवस्थामा भेटिएका पाटेबाघ, चित्तल, बँदेलको व्यवस्थापन गरिएको उनले जानकारी दिए । राष्ट्रिय वन क्षेत्रमा घाइते अवस्थामा भेटिएका जनावारको उद्धार गरिएको हो ।

प्रतिक्रिया