ब्राउनसुगरसहित पक्राउ परेकी न्यायाधिसकी श्रीमती पुर्पक्षको लागि थुनामा !


घोराही – तुलसीपुरमा  ब्राउन सुगरसहित पक्राउ परेकी एकजना न्यायधिसकी श्रीमतीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतले ब्राउन सुगरसहित पक्राउ परेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४२ बर्षीया तुलसा पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकल इजलाशले थुनछेक आदेशमा लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न भएको आधार देखिने भन्दै  पुर्पक्षका लागि थुनामा पठाएको हो ।

एसपी चन्दले पक्राउ परेकी पोखरेललाई कारागार पठाइएको बताए । नेकपा एमाले ओली समुहकी महिला नेत्री समेत रहेकी पोखरेलले चलाउने स्कुटरको डिक्कि खोल्दा तराजुसहित ब्राउनसुगर गएको फागुन १६ गते प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कि भित्र राखेको अवस्थामा प्लाष्टिकसहित तौल गर्दा २.२२ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

इलाका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा पोखरेलको स्कूटरमा प्रतिबन्धित लागुऔषध बरामद बरामद गरेपछि पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

पोखरेलका श्रीमान् मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधिशका रुपमा कार्यरत छन् । पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहकी जिल्ला कमिटी सदस्य पनि हुन् । तर न्यायाधीश पोखरेलले भने ती महिलासँग कुनै सम्बन्ध नभएको भन्ने अभिव्यक्ति पनि दिएका छन् ।

प्रतिक्रिया