६ साथीले सँगै गाँजा ताने, त्यसपछि भयो केटीको कुरामा झगडा


काठमाडाैं- सिरहाको गोलबजार नगरपालिका–१३ का ६ जना साथीहरू असोज २७ गते राति सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । २१ वर्षीय कृष्णकुमार महरा, २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद मेलामा गएका थिए ।

राति सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक गए । खोलानजिक पुगेर उनीहरुले गाँजा र लागुऔषध नाइट्राभेट ट्याबलेट सेवन गरे । त्यसै क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना रहेको सुनाएका थिए । उनीसँगै रहेका उनका अरू साथीहरूले पनि ती महिलासँग भेट्ने बताएपछि विवाद भयो ।

विवाद बढ्दै गएपछि पाँचै जनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
घटना लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए ।

असोज २८ गते कृष्णको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नै साथीद्वारा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । हत्या आरोपमा पाँचैजनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

 

 

प्रतिक्रिया