

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
नयाँ कर्मचारी भर्ना सम्बन्धी उजुरी पछि आयोगले बिहिबार विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई करारमा जागिर दिएको उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेको हो।
‘विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई कर्मचारीमा नियुक्त गरेको उजुरी आएको थियो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले भने, ‘उजुरी परेपछि कार्यालयमै पुगेर कर्मचारी भर्ना सम्बन्धी कागजात नियन्त्रणमा लिएका छौँ।’ छानबिनका लागि अख्तियारले कागजात नियन्त्रणमा लिएको जनाएको छ।
‘छानविनका विभिन्न प्रक्रियाहरु हुन्छन्, प्रमाणहरु नष्ट हुनसक्ने भएपछि हामी तत्काल फिल्डमै गएका हौँ’ उनले भने, ‘अख्तियारको औपचारिक पत्र बोकेर विश्वविद्यालय गयौँ र कागजात लिएर आएका छौँ।’

