

माओवादी केन्द्रका नेताविरुद्ध बालिका बलात्कारको उजुरी, प्रहरीले बोलायो

दाङ – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता बिष्णु चौधरीलार्ई बालिका बलात्कार गरेको आरोप लागेको छ। बिजौरी निवासी चौधरीले आफैले चलाएको अनाथालयमा पढ्नका लागि बसेकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो।
जिल्ला प्रहरी कार्यालय दाङले चौधरीमाथि बालिका बलात्कार गरेको जाहेरी आएको जानकारी दिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले गएराती नै चौधरीले बालिकामाथि बलात्कार गरेको उजुरी आएको र अहिले प्रहरीमा पीडित बालिकाको तर्फबाट जाहेरी आइसकेको जानकारी दिए।
घटनाको अनुसन्धान गर्न आफूले निर्देशन दिइसकेको एसपी चन्दले बताए । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले चौधरीमाथि बालिका बलात्कारको आरोपसहित जाहेरी आइसकेको र घटनाको अनुसन्धान गरेर कानुन बमोजिम कारबाही हुने बताए।
अनुसन्धानको लागि उहाँलाई हामीले बोलाएका छौं,’ डिएसपी रिजालले भने। यसअघि पनि आरोपित चौधरीले देउखुरकी एक युवतिमाथि बलात्कारको आरोपमा कैद सजाय भोगेका थिए।

