छोरीको हत्या गरी खोलामा बगाएर प्रहरीमा जाहेरी दिने आमा पक्राउ


काठमाडौं – छोरीको हत्या गरी शव खोलामा बगाएर फ्याँकेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भण्डारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई आज  पक्राउ गरेको हो । साउन २७ गते दिउँसो ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भण्डारी हराएको भन्दै प्रमिलाले प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् । खोजतलासका क्रममा साउन २८ गते बिहान साढे ८ बजेतिर उनको घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेकोे ठोस्ने खोला बालिकाको शव भेटिएयो ।

पानीको डुबेको र रुखको हाँगामा अड्किएको अवस्थामा शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको थियो । शवको प्रकृति र पोष्टमार्टम रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढायो ।

अनुसन्धानका क्रममा उनकै आमा प्रमिलाले छोरीको हत्या गरेको खुलेको पाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन् । हिकाउँदा बेहोस भएपछि खोलामा फालेको आमाले स्वीकारेको एसपी सुवेदीले जानकारी दिए । पक्राउ परेकी प्रमिलाविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया