धनगढीमा किशोरीका दुई ‘ब्वाइफ्रेन्ड’को लफडामा बिनाकारण कुटिए चालक र सहचालक


काठमाडौं– हिजो (शनिबार) राति कैलालीको धनगढी उपमहानगरपालिकामा एक समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनायो ।

राति धनगढी–२ मिलनचोकस्थित रोड हाउस क्याफे नजिक उक्त समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवा र कैलालीको गोदावरी नगरपालिका–४ का २२ वर्षीय सहचालक अनिल देउवा भएका घाइते थिए ।

उनीहरुमाथि आक्रमण गरेको आरोपमा कैलाली प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरिसकेको छ । भने, एकजना फरार रहेका छन् ।

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–१ का १८ वर्षीय विक्रम मल्ल, डोटीकै सिलगढी नगरपालिका–३ का १९ वर्षीय अरुण बोगटी, धनगढी उपमहानगरपालिका–२ करिब १६ वर्षीय डोरेमन भन्ने पुष्कर धामी, धनगढीकै सनम राई र इसान गुरुङ रहेका छन् भने धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २३ वर्षीय मुस्कान सिंह फरार छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिहेको प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए ।

किन भयो लफडा ?
हिजो राति भएको घटनाको जड किशोरी भएको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार धनगढीकै एक विद्यालयमा कक्षा ९ मा पढ्ने धामी थरकी किशोरीको सुरुमा डोटीका विक्रम मल्लसँग प्रेम रहेको खुलेको छ ।

मल्ल र धामीको प्रेमकहानीमा अर्का धामीको प्रवेश भएको थियो । उनी थिए धनगढीकै डोरेमन भन्ने पुष्कर धामी । अहिले धामीले धामीलाई बहिनी बताएपनि उनीहरुबीच गोप्य अफेयर चलेको थियो । उनीहरु सामाजिक सञ्जाल फेसबुकमा गोप्य रुपमा प्रेमका कुराकानी गर्ने गरेको खुलेको छ ।

किशोरीको दुईतिर प्रेम सम्बन्ध हुँदा विवाद सुरु भएको अनुसन्धानबाट देखिन्छ । एउटै किशोरीको दुईजनासँग अफेयर चलेको थाहा पाएपछि विक्रम मल्ल र पुष्कर धामीबीच लफडा हुनथाल्छ ।

त्यसैमा ती किशोरीले ‘पुस्करले मलाई जिस्कायो’ प्रथम प्रेमी मल्ललाई कुरा लगाएकी थिइन् । त्यसपछि मल्ल र धामी सामाजिक सञ्जालबाटै बाझाबाझ गर्छन् । अनि फेसबुकबाट सुरु भएको उनीहरुको विवाद मिलनचोकमा हानहानसम्म पुग्छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुबीच हिजो राति ९ बजे भेट्ने कुरा भएको थियो । सुरुमा बिक्रमले भन्सार रोडमा बोलाए भने पुष्करले घटनास्थल मिलनचोममा बोलाए । भेट्ने क्रममा धामीले अरुण बोगटीलाई ल्याएर आएका थिए भने, मल्लसँग सनम राई र इसान गुरुङ आएका थिए ।

सबैजना त्यहाँ पुग्ने बित्तिकै विवाद सुरु हुन्छ । विवाद मात्रै होइन उनीहरुबीच हानाहान नै हुन्छ । त्यसक्रममा विक्रम मल्लले पुष्कर धामीको टाउकोमा हानेका थिए । त्यसपछि धामी रगताम्य भएर त्यहाँबाट भागे ।

त्यसको केही घण्टामा धामीले केही युवाहरुलाई घटनास्थलमा पठाए । त्यहाँ जाने टोलीको नेतृत्व मुस्कान सिंहले गरेका थिए । सिंह त्यहाँ अरुण र विक्रमलाई कुट्ने जिम्मेवारीका साथ पठाइएका थिए । तर, उनी पुग्दा त्यहाँ चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवा मात्रै भेटिन्छन् ।

ट्यांकरमा सुतेका उनीहरु मुस्कान सिंह पुग्दा बाहिर पिसाब फेर्न निस्केका थिए । जसलाई पायो त्यसलाई कुट्न आदेश पाएको सिंहको समूहको चपेटामा उनीहरु पर्छन् । र, घाइते हुन्छन् । जबकी उनीहरुको कुटपिट गर्नेहरुसँग कुनै सम्बन्ध तथा विवाद नरहेको खुलेको छ ।

प्रतिक्रिया