

कुलमानविरुद्ध अख्तियारमा जाने पूर्वडीआईजी रमेश खरेलविरुद्ध पनि उजुरी

काठमाडौं- केहीदिन अघि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको दाबी गर्दै कागजपत्रसहित आयोगमा उनले उजुरी दिएका थिए ।
आज उनै खरेलविरुद्ध सामाजिक अभियन्ता युवराज सफलले अख्तियारमा उजुरी दर्ता गरेका हुन् । पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सफलले उजुरी दिएका हुन् ।
कानुनले सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरेकाेमा खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् ।

