देशको राजनीति पेचिलो अवस्थामाः पर्यटनमन्त्री पाण्डे


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन्।

आइतवार काठमाडौंमा आयाजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशको राजस्वले चालू खर्च नधान्ने भइसकेको बताए। उनले एक अर्ब राजस्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको बताए।

उनले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्चभन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको बताए। उनले राजनीति, शैक्षिक क्षेत्र, निजी क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्नुपर्ने बताए।

मन्त्री पाण्डेले भने‚ ‘देशको राजनीति बडो पेचिलो अवस्थामा छ। सबैभन्दा चिन्ता गर्नुपर्ने कुरा के छ भने हाम्रो राजस्वले चालू खर्च नधान्ने भइसकेको छ। एक अर्ब राजस्व उठ्दा दिनमा दुई अर्ब खर्च हुँदो रहेछ। राजस्व चालू खर्च नधान्ने अवस्था छ। अर्कातिर पुँजीगत खर्च जसका नाममा हामीले पुँजीलाई प्रवर्धनन गर्नुपर्छ। त्यो पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन खर्च भनेर हामीले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्चभन्दा बढी आकार भएको अवस्था छ। यो अवस्थामा हामी सबै गम्भीर हुनुपर्छ।

मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेकाले जनताको अपेक्षानुसार काम गर्नुपर्ने बताए। उनले सबै मिलेर विकृति अन्त्य गरी असल बाटोमा मुलुकलाई लैजाने प्रतिबद्धता व्यक्त गरे। रचनात्मक र सिर्जनशील बाटोबाट मुलुक निर्माण गर्नुपर्ने बताए।

प्रतिक्रिया