
आज अमेरिकामा मध्यावधि निर्वाचन
काठमाडौं– अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । यो निर्वाचनबाट अमेरिकी संसद् कंग्रेसका दुवै सदन (प्रतिनिधिसभा र सिनेट) को शक्ति सन्तुलन निर्धारण हुनेछ ।
निर्वाचनमा प्रतिनिधिसभाका ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुन लागेको हो । सिनेटका ३३ नियमित सिट, दुई विशेष निर्वाचन र ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान हुनेछ ।
अमेरिकी निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा मतदाताले आफ्नो राज्य र निर्वाचन क्षेत्रअनुसार संघीय, राज्य तथा स्थानीय तहका प्रतिनिधि चयन गर्नेछन् । यस मध्यावधि निर्वाचनमा ५ करोड ६० लाखभन्दा बढी मतदाताले यसअघि नै अग्रिम मतदान गरिसकेका छन् ।
निर्वाचनमा अर्थतन्त्र, जीवनयापनको लागत र आप्रवासन मुख्य मुद्दाका रूपमा रहेका छन् । जीवनयापनको बढ्दो लागतका बारेमा डेमोक्रेट र रिपब्लिकन दुवैका समान चासोहरू रहे पनि हालका सर्वेक्षणहरूले अर्थतन्त्र, राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य प्रमुख मुद्दाहरूलाई उनीहरूले हेर्ने दृष्टिकोणमा भिन्नता रहेको देखाएका छन् ।
रिपब्लिकन पार्टीको प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत छ भने डेमोक्रेटिक पार्टीका लागि दुवै सदनमा आफ्नो उपस्थिति बलियो बनाउनु पर्ने दबाब छ । तल्लो सदनमा बहुमतका लागि डेमोक्रेटिकलाई अहिलेको सिट संख्याबाट ४ सिट बढाए पुग्छ । माथिल्लो सदन सिनेटको प्रतिस्पर्धा भने रोचक हुने सर्वेक्षणहरुले देखाएका छन् ।
यो निर्वाचनको नतिजाले सन् २०२८ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुवै दलको राजनीतिक रणनीति र शक्ति सन्तुलनमा प्रभाव पार्न सक्नेछ ।



कागजपत्र |
