नेपाली शान्तिप्रक्रियाको मौलिकता विश्वव्यापी स्थापित: उपमहासचिव शर्मा


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली शान्तिप्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख तीन राजनीतिक दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि उनले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष आठ महिना ११ दिनपछि महत्वपूर्ण सहमति भएको बताए ।

सो अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत सम्पन्न भइसकेका छन् । उनले भने, “द्वन्द्वपीडितलाई न्याय, परिपूरण र मेलमिलाप ढिलाइ भइरहेको थियो । आज महत्वपूर्ण सहमति भएको छ ।”

नेता शर्माले भने, “सम्मानित अदालतको आदेशबमोजिम टिआरसी विधेयक संशोधनका लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला पक्ष र विज्ञको सल्लाह, सुझाव, सहयोग लिई सहजीकरण गर्न सफल भएका छौँ ।”

उनले यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकी काम चाँडो पूरा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया