अवैध लागूऔषधसहित १७ जना पक्राउ


काठमाडौं – अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ६ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट १ पत्ता र सिरिन्ज ६ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अनिष चौधरी, २५ वर्षीय सुरज राई र २३ वर्षीय धिरज राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ३० मिलिग्राम सहित भारत किसनगंज सतकुवा दिंगलबैक पञ्चायत-१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेकाउनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-४ स्थित मोबाइल पसल संचालन गरी बस्ने २९ वर्षीय युबराज शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ१ ग्राम २ सय ७० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-११ खानेपानी ट्याङकी बस्ने २७ वर्षीय राज कुमार थारू समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बुटाबाट चप्परगौडीतर्फ जाँदै गरेको भे.१ ह७६९८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-२ मनकामना चोकस्थित होटल डिभान्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ४ ग्राम ३० मिलिग्राम सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-२ बिकाशनगर बस्ने २२ वर्षीय राम बहादुर विक र १९ वर्षीय राकेश विक रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उक्त होटलको १११ नम्बरको कोठामा बसेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यता रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० मसानघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित मायादेवी गाउँपालिका-६ बेथरी बस्ने २० वर्षीय अभिषेक सोरहिया मल्लाहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले यूपी ५३ एवी ४६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक अभिषेकलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-७ जोखर तालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजा करिब ३३ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमाहेटौंडाउपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३४ वर्षीय बिनोद सेवा र सोही उपमहानगरपालिका-१३ बनस्पती बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएकी ४६ वर्षीया सुनिता तामाङ रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक बिनोद र गाडीमा सवार सुनितालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया