

खुकुरी प्रहार गरेर नेपालगन्जमा युवकको हत्या

नेपालगन्ज- धारिलो हतियार प्रयोग गरेर नेपालगन्जमा एक युवकको हत्या गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ३८ वर्षीय इरसाद राईमाथि शुक्रबार राति करिब १०ः३० बजेतिर खुकुरी प्रहार हत्या गरिएको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते राईलाई राति नै भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले खुकुरी प्रहार गरी राई को हत्या गरेको जानकारी प्राप्त भएको छ । हत्या गर्ने समूहको पहिचान नभए पनि समूहले प्रयोग गरेको से ७ प ४२५३ नम्बरको मोटरसाइकल फेला परेकाले छिट्टै पहिचान हुने उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागुऔषध दुर्व्यसनीकर्ताबिच आपसमा विवाद भएको थियो । झगडा र विवाद मिलाउन गएका राईमाथि नै खुकुरी प्रहार हुँदा राइको हत्या भएको खुलेको छ ।
हत्यामा संलग्नहरूको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

