माओवादीभित्र जसले गुट चलाउँछन्
काठमाडौं– १७ भदौ ०७९ सुर्खेतमा भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गुटबन्दी धेरै भएको बताए ।
उनले पार्टीमा विचार समूह एउटै रहेको र नेतृत्वमा पनि कसैको विमती नरहेको भए पनि थुप्रै गुटहरु बनेको दुखेसो पोखे ।
प्रचण्डले सो कार्यक्रममा भनेका थिए, नेताहरुको बीचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन् ।’
सुर्खेतपछि अन्य दर्जनौं कार्यक्रममा प्रचण्डले पार्टीभित्र गुटबन्दी मौलाइरहेको दुखेसो कार्यकर्ताहरुसँग गर्दै आएका छन् ।
पार्टीभित्र विचारमा विमती छैन् । तर गुटबन्दीमा तिनै नेताहरु सक्रिय छन् जसले सबैभन्दा बढी लाभ लिएका छन् ।
केन्द्रकै पदाधिकारीको गुट जिल्ला र वडा तहसम्म पुगिसकेको छ । कतिपय नेताहरु अध्यक्ष प्रचण्डले नै नेताहरुलाई काँखापाँखा गर्दा गुटको जन्म भएको बताउँछन् ।
माओवादीभित्र माओवादीभित्र प्रचण्डको वरिपरी घुम्ने तर जनता र कार्यकर्तामा कम जाने, फाइदा भने बढी लिने एक किसिमको समूह सक्रिय छ । जसले आफुलाई हेडक्वार्टरको दाबी गर्दै आएका छन् ।
गुटको प्रभाव वडादेखि केन्द्रसम्मै देखिन्छ । कमजोर संगठन भएको माओवादीमा गुटबन्दीले चुनावी नतिजामा समेत असर पारेको देखिन्छ । विभिन्न जिल्लामा विभिन्न चुनावमा अन्तरघात गरेको उजुरी परेका छन् । तर ती उजुरीउपर पनि गुटकै कारणले कुनै कारवाही हुन सकेको छैन् ।
हरेकजसो माओवादीका जनवर्गीय संगठनमा नेताहरुको नामै तोकेर भागवण्डा गर्ने चलन माओवादीभित्र झांगिदै गएको छ ।
को–को हुन गुटबन्दीका कमाण्डर ?
माओवादी केन्द्रभित्र विभिन्न किसिम र उद्देश्यले खोलिएका स्वार्थ समूह रहेका बढी छन् । आफ्नो स्वार्थ पुरा हुँदा रमाउने नहुँदा अन्याय भयो भनेर पार्टीविरुद्ध बोल्नेहरु पनि छन् ।
विचारको बहस उनीहरु गर्दैनन् । पद र प्रतिष्ठा उनीहरुका लागि मुख्य एजेण्डा हो ।
गुटभित्र उपगुट पनि सक्रिय छन् ।
पार्टीभित्र गुटबन्दी गर्नेमा सबैभन्दा बढी सक्रिय पात्र हुन् वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । श्रेष्ठ जनयुद्धकालिन माओवादी नेता होइनन् । पार्टी शान्ती प्रक्रियामा आएपछि उनी माओवादी प्रवेश गरेका हुन् ।
उनी आफु पनि पटक–पटक मन्त्री भइसकेका छन् । हाल पनि उपप्रधान तथा परराष्ट्रमन्त्री छन् । उनले पटक–पटक अवसर पाउँदै गएपछि माओवादी सांसद सुवोध सापकोटाले त उनको विरोध नै गरेका थिए ।
उनले देशभरी गुट विस्तार गरेका छन् । जिल्ला,प्रदेश र केन्द्रमा उनको गुट छ । सरकारमा सहभागिताको बेला होस् या टिकट वितरणमा उनले आफुनिकटका व्यक्तिलाई च्याप्दै आएका छन् ।
युद्धकालिन नेताहरु श्रेष्ठको पक्षमा कमै छन् । तर पछिल्लो समय असन्तृष्ट नेता–कार्यकर्तालाई उनले आफ्नो लाइनमा ल्याउँदै आएका छन् ।
श्रेष्ठबाहेक पछिल्लो समय गुटबन्दीमा सक्रिय छन् महासचिव देव गुरुङ । प्रचण्ड नेतृत्वको पार्टीबाट विद्रोह गरेर बाहिरीएका गुरुङ पुन माओवादी केन्द्रमै फर्किएर महासचिव बने ।
कम्युनिष्ट पार्टीमा महासचिव शक्तिशाली पद मानिन्छ । गुरुङ माओवादीभित्र महासचिवको दौडमै थिएनन् । जनार्दन शर्मा र वर्षमान पुन निर्वाचनमा जान पनि तयार थिए । तर प्रचण्डले दुवैलाई अस्विकार गरेर गुरुङलाई महासचिव बनाए ।
उनले पनि देशभर पूर्व मोहन वैद्य समुहमा रहेर आफुसँग माओवादीमा फर्किएकालाई च्याप्ने गरेका छन् ।
जिल्लास्तरका नेताहरुसँग पनि उनले कुराकानी गर्ने गरेका छन् । कम बोल्ने तर आफ्नालाई च्याप्ने प्रवृती गुरुङमा देखिएका नेताहरु बताउँछन् ।
माओवादीभित्र सबैभन्दा शक्तिशाली गुट भनेको वर्षमान पुन र जनार्दन शर्माको हो । युद्धकालिन दुई कमाण्डर रुकुम र रोल्पाका हुन् ।
उनीहरुको गुट समुह देशभर छ । वडा तह सम्मै छ ।
उनीहरुको गुटमा लागेकाहरु देखिने गरि गुटबन्दीमा सक्रिय छन् ।
जनवर्गीय संगठनमा कतिपय अवस्थामा यी दुई गुटमा लागेकाहरुबीच बोलचालसम्म नभएको नेताहरु बताउँछन् ।
पछिल्लो समय जनार्दन शर्मा प्रचण्डको कोर टिममा छैनन् । वर्षमान पुनलाई प्रचण्डले बढी विश्वास गरेको देखिन्छ ।
माओवादीभित्र सबैभन्दा बढी अवसर पाउने नेताहरुमा श्रेष्ठ,शर्मा,पुन र शक्ति बस्नेत पर्दछन् ।