मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, दुई मन्त्रीको पद धरापमा
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेकपा एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारी र नेपाली कांग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका बद्री पाण्डेलाई फिर्ता पठाउने तयारी गरेका हुन् । दुवै मन्त्रीको कार्यसम्पादनमा चित्त नबुझेपछि ओलीले उनीहरुलाई फिर्ता पठाउने तयारी गरेको स्रोतको दाबी छ ।
मन्त्री भण्डारीले आर्थिक अनियमितता गरेको, बिचौलिया लगाएर सुपारी, वाइनको व्यवसाय गर्ने उद्योगीहरुबाट पैसा असुली गरेको जानकारी पाएपछि ओलीले उनलाई मन्त्री पदबाट हटाउन लागेको बताइएको छ । हिजो (शनिबार) बसेको एमाले सचिवालय बैठकमा पनि मन्त्री दामोदर भण्डारीको कार्यसम्पादन अत्यन्तै कमजोर देखिएकाले मन्त्रालयबाट फिर्ता बोलाउनेबारे छलफल भएको स्रोतले बताएको छ ।
यसअघिको मन्त्रीपरिषद्मा पनि सहभागी भएका भण्डारी पुनः दोहोरिएका थिए । तर, दुईपटकसम्म पनि मन्त्री पद खाएका उनको कार्यशैलीबारे पार्टीभित्रै आलोचना भइरहेको छ ।
यसैगरी कांग्रेसकाे शेखर कोइराला समुहबाट पर्यटन मन्त्री बनेका बद्री पाण्डेले पार्टी र समूहको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेसबाटै उनलाई पदबाट हटाउन दबाब आएको बताइएको छ । पाण्डेबारे पार्टी र समुहमै आलोचना भइरहेको र कार्यसम्पादन पनि कमजोर देखिएकाले प्रधानमन्त्री ओलीले उनको बिदाई गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली दुवै मन्त्रीलाई जुनसुकै बेला पनि हटाउन सक्ने बताइएको छ ।