देउवा आउने भएपछि रातारात हटाइँदै डडेल्धुरा सदरमुकामका छाडा चौपाया
डडेल्धुरा- आज (आइतबार) अपराह्नसम्म डडेल्धुरा सदरमुकाममा छाडा चौपायाका हुल देख्न सकिन्थ्यो । तर, एकाएक अहिले ती सबैलाई धपाएर डडेल्धुरा उद्योग वाणिज्य संघको परिसरमा थुनेर राखिएको छ । ती सबैलाई आज राति नै ट्रकमा लोड गरेर सदरमुकामबाहिर लगेर जंगलमा छाँडिदैछ ।
यो सबै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिल्ला पुग्न लागेकाले गरिन लागिएको बताइएको छ । उक्त कार्यमा सदरमुकाम रहेको अमरगढी नगरपालिकाका सरसफाई कर्मचारीलाई खटाइएको छ ।
यतिका समयसम्म छाडा चौपाया व्यवस्थापनका कुनै चासो नदिएको नगरपालिकाले अहिले भने देउवा आउने भएकै कारण रातारात ती चौपायालाई चिसो लेकमा लगेर छाड्ने तयारी गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ । त्यसका लागि दुईवटा ट्रक तयार गरिएको स्रोतको दाबी छ ।
देउवा एक साताका लागि गृहजिल्ला डडेल्धुरा आउँदै छन् । देउवा भोलि गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ । डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदले बताए ।
कार्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यस्तै कार्तिक २७ गते सभापति देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् भने कार्तिक २८ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैठकमा सहभागी हुने बताइएको छ ।
त्यसैगरी कार्तिक २८ पालिका स्तरीय भेटघाट, कार्तिक २९ गते पनि भेटघाट कार्यक्रम, कार्तिक ३० गते जन्मस्थान गन्यापधुरा गाउँपालिका( १ रुवाखोला जाने कार्यक्रम तय भएको छ । यस्तै देउवा मंसिर १ गते उग्रतारा मेलामा सहभागी हुने जिल्ला सभापति साउदले जानकारी दिए ।