रास्वपालाई लक्षित गर्दै देउवाले भने- हाम्रा सांसदलाई मुद्दा चलाइयो, तर कहिल्यै होहल्ला गरेनौँ
काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै हो-हल्ला नगर्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
सहकारीको रकम घोटाला प्रकरणमा एउटा पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो भन्ने आरोप लागेको छ, यसमा कांग्रेसको प्रतिक्रिया के छ भन्ने प्रश्नमा देउवाले भने, ‘हाम्रा सांसदलाई मुद्दा चलाइयो । तर, हामीले कहिल्यै होहल्ला गरेनौँ । अदालती प्रक्रियामा गएको कुरा त अदालतले फैसला गर्ला ।’
साथै देउवाले अहिलेको गठबन्धन पूरै कार्यकाल टिक्ने पनि दाबी गरे ।
देउवा एक साताका लागि गृहजिल्ला डडेल्धुरा जाँदैछन् । देउवा भोलि गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ । डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदले बताए ।