बर्दघाटमा भेटियो बंगलादेशमा आतंक मचाउने ‘रसेल भाइपर’, कति खतरनाक ? [भिडियो]
काठमाडौं- नवलपरासी(पश्चिम)को बर्दघाटमा खतरनाक ‘रसेल भाइपर’ फेला परेको छ । नेपालमा बाघे सर्प भनिने यो सर्पलाई अति नै विषालु भएको विशेषज्ञहरु बताउँछन् ।
साधारणतया लुम्बिनी प्रदेशको तराई भेगमा भेटिने यो सर्प बर्दघाट नगरपालिका–७ बेलहानीमा फेला परेको हो । सुरुमा स्थानीयले यो सर्पलाई फेला पारेका थिए । उनीहरुलेअजिंगर भनेर सर्प उद्धारकर्ता दुर्गा लामिछानेलाई बोलाएका थिए । तर लामिछानेले यो सर्प अजिंगर नभएर अति नै विषालु रसेल भाइपर भएको पुष्टि गरेका हुन् ।
उनका अनुसार ६ महिनाको अवधीमा सो क्षेत्रमा ३ वटा रसेल भाइपर फेला परिसकेका छन् । अहिले उद्धार गरेको उक्त सर्पलाई अध्ययनका लागि वन कार्यालयम राखिएको छ ।
विश्वमा करिब ३ हजार प्रजातिका सर्प पाइन्छन् । तर, ‘रसेल भाइपर’ को परिचय अलग्गै छ । यो सर्पलाई साक्षात काल भन्दा पनि फरक पर्दैन, किनभने यसले टोकेको मानिसले पानी पनि भन्न पाउदैन । पछिल्लो ६ महिनामा यो सर्पले बंगलादेशमा आतंक नै मच्चाएको थियो । सोही कारण त्यहाँ यो सर्पलाई मार्ने अभियान नै थालिएको थियो ।
एक दशकअघिसम्म बंगलादेशका जनता यो सर्पबाट निडर भएका थिए । सन् २००२ मा बंगलादेश सरकारले यसलाई लोपोउन्मुख भनेर घोषणा गरेको थियो । तर, यो सर्प अहिले बंगलादेशमा फर्किएको छ । बंगलादेशमा रसेलको भाइपर प्रजातिको यो विषालु सर्पले मानिसलाई आफ्नो शिकार नबनाएको दिन सायदै होला भनेर दाबी गरिएको छ ।
त्यहाँको सञ्चारमाध्यमका अनुसार बंगलादेशमा हरेक वर्ष विषालु सर्पको टोकाइबाट करिब ७ हजार मानिसको मृत्यु हुने गरेको छ । जसमध्ये ६० प्रतिशतभन्दा बढीको मृत्यु रसेल भाइपरको टोकाइबाट हुनेगरेको छ ।
यो सर्प बंगलादेश बाहेक नेपाल, पाकिस्तान, श्रीलंका र भारतमा पनि पाइन्छ । भारतमा यसलाई रसल भाइपरसँगै चित्ति पनि भनिन्छ । बंगलादेशमा यसलाई चन्द्रबोडा भनेर चिनिन्छ ।
रसेल भाइपरले कसरी आक्रमण गर्छ ?
विज्ञहरुका अनुसार यो सर्पको सानो आकार नै यसबाट हुने मृत्युको सबैभन्दा ठूलो कारण हो । किनभने यो सर्प अजिङ्गर जस्तो देखिन्छ । सर्पको बारेमा जानकारी नभएकाहरुले यसलाई सुरुमा देख्दा अजिंगर नै ठान्छन् । सोही कारण जब मानिसहरु यसको नजिक जान्छन् वा लापरवाहीपूर्वक यसलाई भगाउने प्रयास गर्छन्, त्यहिबेला यसले आक्रमण गर्छ ।
कति खतरनाक ?
सर्प विज्ञहरुका अनुसार रसेल भाइपर निकै सुस्त हुन्छ । तर, जब यो शिकार गर्छ वा खतरा महसुस गर्छ, यसले तिव्रगतीमा आक्रमण गर्छ । आक्रमण गर्दा यसले ‘होमोटोक्सिन’ विष सिधै मानव शरीरमा थुक्छ । यसको विषले मानव रक्त कोशिकालाई प्रत्यक्ष असर गर्छ । यसले टोकेको ठाउँ सुन्निन थाल्छ ।
विषको प्रभावले रगत एकदमै पातलो हुन्छ । र, जतातिर बाटो भेटिन्छ त्यहिँबाट निस्कन थाल्छ । यसले टोकेमा मानिसको नाक, मुख, कान वा पिसाबनलीबाट रगत आउन थाल्छ । यति मात्र होइन, कुनै घाउ भर्खरै निको भएको छ भने विषको प्रभावले फेरि खुल्छ र त्यहाँबाट पनि रगत बग्न थाल्छ । यसले विषले मृगौलामा समेत नराम्रो असर गर्छ । सर्पको टोकाईपछि मृगौलाको डायलाइसिस गर्नुपर्ने अवस्था हुन जान्छ ।
होमोटोक्सिन विषको एन्टिभेनम समयमै फेला परे सर्पले टोकेको व्यक्तिलाई बचाउन सकिन्छ । नत्र यसको विषले ३० मिनेटभित्र मानिसको ज्यान लिन सक्ने विज्ञहरु बताउँछन् । समयमै उपचार नपाएकाे खण्डमा जीवनभर प्यारालाइसिस पनि हुनसक्ने बताइएकाे छ ।
फोटा र भिडियो : सामाजिक सञ्जाल