

दक्षिणकालीमा भेटिएको दुई शवको पहिचान खुल्यो

काठमाडौं – काठमाडौंको चाल्नाखेलमा फेला परेको शवको पहिचान खुलेको छ। मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो। शुक्रबार बिहान दक्षिणकाली नगरपालिका–१ खहरेस्थित जंगलमा २ जनाको शव फेला परेको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले उक्त शव नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको रहेको जानकारी दिए। एसएसपी सिंहका अनुसार दुवैजना विद्यार्थी हुन्।
नुवाकोटका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे भने काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए। उनीहरु साथी हुन्।
मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए। ‘अनुसन्धान गरिरहेका छौं। दुवैजना बांगेमुढामा बस्थे।’ एसएसपी सिंह कमाण्डको प्रहरी टोली आफैं घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन्।
घटनास्थलमा तालिमप्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिएको छ। प्रहरी अनुसन्धानमा उनीहरु बिहीबार बिहान १० बजेदेखि हराएका खुलेको छ। उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

