

भारतमा कोरोनाको नयाँ लहर: वीरगन्ज र आसपासका क्षेत्रमा सतर्कता अपनाउन चिकित्सकको सुझाव

वीरगन्ज – छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढिरहँदा खुल्ला सिमानाका वीरगन्ज र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक भएको चिकित्सकहरुले सुझाव दिएका छन् ।
हाल भारतको महाराष्ट्र, पन्जाब, केरला, राजस्थान लगायत राज्यहरुमा केही दिनदेखि कोरोनाको संक्रमण फेरि तिब्र रुपमा फैलिरहेको छ ।भारतमा केही सातायता फेरि दैनिक ३६ हजार सम्म कोरोना संक्रमित थपिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
त्यसैले भारतसँग खुला सीमा जोडिएका कारण वीरगन्ज सहितका नेपालका सीमावर्ती सहर र जिल्लाहरुमा सतर्कता अपनाउनु अत्यन्त जरुरी रहेको चिकित्सकहरुको सुझाव छ ।
नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जले एक विज्ञप्ति जारी गरेर छिमेकी मुलक भारतमा कोरोना संक्रमण फेरि तिब्र रुपमा फैलिरहेकोले खुला सीमा भएकाले नेपालका सीमावर्ती सहर र जिल्लामा पुन संक्रमण भित्रिने जोखिम रहेको जनाएको छ ।
‘होली लगायत चाड पर्व नजिक आइरहेका छन् । स्वास्थ्य सतर्कता नअपाएको खण्डमा वीरगन्ज लगायत आसपासका क्षेत्रमा फेरि जेठ–साउनको जस्तै भयावह स्थिति फर्किने जोखीम छ,’ चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा छ ।

