

भागरथीको सफल अनुसन्धानपछि निर्मलाबारे सूचना आउन थालेको छः डिआईजी सुवेदी

कञ्चनपुर — महिला तथा वालवालिकामाथि हुने अपराध न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षित चेली अभियान सुरु गरेको छ। शुक्रबार महेन्द्रनगरमा औपचारिक कार्यक्रम गरि अभियानको सुरुवात गरेको हो।
अभियान अन्तरगत विद्यालय र समुदायमा सचेतनामुलक कार्यक्रमसंगै आत्मरक्षाका कार्यक्रमहरु पनि गरिनेछन्। जिल्लाका ९ वटै स्थानीय तहको सहकार्यमा हरेक तहमा नियमित रुपमा सचेतनामुलक कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले बताए। जिल्लाका सबै विद्यालय र टोल टोलमा पुगेर सबैलाई सचेत पारिने बताए।
प्राविधिको बढ्दो प्रयोगसंगै सामाजिक सञ्जालको दुरुपयोगबाट समेत अपराधिक गतिविधिहरु बढिरहेका छन्। महिलामाथि हुने हिंसा पनि त्यहि अनुपातमा बढेका छन्। पछिल्लो समयमा स्कुले वालवालिकाहरु लागु औषधको दुवर्यशनसंगै मोवाइलको कुलतमा फसेका कारण तिनिहरु समेत अपराधमा फस्न थालेको प्रहरीको आकलन छ।
जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको समुद्घाटन कार्यक्रममा सुदूरपश्चिमाञ्चल विशवविद्यालयका उपकुलपति अम्मराज जोशी, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी लगायतको उपस्थिति थियो।
डिआईजी सुवेदीले घटना हुने वितिक्कै आन्दोलन सुरु गर्ने परिपार्टीले अनुसन्धान नै प्रभावित हुने अवस्था आएको बताए। जसका कारण समाज र प्रहरीबिचको समन्वय हुन नसकी सहि सुचनाको आदानप्रदानमा समेत समस्या हुने गरेको उनले बताए। ‘निर्मला प्रकरणमा प्रहरीलाई अनुसन्धानमा कहि कतैबाट पनि सहयोग भएन,’ सुवेदीले भने, ‘घर घरमा अनुसन्धान अधिकृतहरु बसे, घरबाट फलानो अपराधी फलानो अपराधी भन्न थालियो।’
उनले बैतडीमा भागरथी प्रकरणमा स्थानीयको साथ र सहयोगबाटै अनुसन्धान सफल भएको बताए। स्थानीयले नियमित रुपमा सुचना दिएका कारण नै अनुसन्धान सहज भएको उनले बताए। ‘भागरथीको सफल अनुसन्धानपछि निर्मलाका बारेमा पनि सुचनाहरु आउन थालेको छ,’ उनले भने, ‘हामी छिट्टै निर्मलाको अनुसन्धान पनि टुंगोमा पुर्याउछौं।’
समुदायमा अपराधीक गतिविधिहरु बढ्दै गएका कारण विभिन्न कार्यक्रममार्फत सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भइरहेको डिआईजी सुवेदीले बताए। उनले विद्यालयमा पनि नियमित रुपमा यस्ता कार्यक्रमहरु चलिरहेको बताए।

